मुस्ताङमा आलुको उत्पादन घट्यो

काठमाडौँ । गत वर्षके तुलनामा यस वर्ष आलुको उत्पादन घटेको छ । डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन ३३ प्रतिशतले घटेको  कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका अनुसार गत वर्ष नौ हजार ६०३ मेट्रिक टन आलु उत्पादन भएकोमा यस वर्ष छ हजार ३६३ मेट्रिक टन आलु उत्पादन भएको छ । 

मुस्ताङमा उत्पादित आलु पोखरा, काठमाडौँ, चितवनलगायतका बजारमा जाने गरेको छ । यहाँको आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत हुने र बाँकी ७० प्रतिशत निकासा हुने जनाइएको छ ।

यहाँ उत्पादित आलु प्रतिकिलो सरदर ५० रुपैयाँमा बिक्री हुने गरेको छ । गत वर्ष ४८ करोड नौ लाख मूल्यबराबरको आलु उत्पादन भएकामा यसपटक ३१ करोड ८१ लाख रुपैयाँबराबरको मात्रै भएको छ ।