काठमाडौँ महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौँ - काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको हो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको छ ।

बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गर्ने उनले बताए ।

प्रमुख पौडेलले स्वास्थ्य सहर निर्माणको अभियानमा महानगरपालिका रहेको बताए । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको उनले बताएका छन् । रोग लागिसकेपछि लाखौँ रुपैयाँ खर्च गर्नुको साटो रोगै लाग्न नदिनु उत्तम भएकाले महानगरले यो नियम कडाइका साथ लागू गर्ने महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको दाबी छ ।