हिमालयन रि इन्सुरेन्सको प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला 

काठमाडौँ - हिमालयन रि इन्सुरेन्स लिमिटेडको आजबाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला भएको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो ।

हिमालयनको जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता आइपीओ सर्वसाधारणलाई जारी गर्न यसले धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ । यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ ।

बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागिएको हो। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यो आइपीओ भर्न सकिनेछ ।