कार्तिक कृष्ण औँसी : आज घरघरमा लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदै

 काठमाडौँ - कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार । सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ ।

यो दिन विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ । औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। आइतबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ ।

आइतबार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटमा औँसी लागेको हो । सोमबार २० घडी ४४ पला अर्थात् दिउँसो २ बजेर ४४ मिनेटसम्म औँसी रहने पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । 

‘कार्तिक कृष्ण औँसीको गाईतिहार सोमबार भए पनि सोमबार रात्रिमा औँसी तिथि नरहने भएका कारण आइतबार नै लक्ष्मीपूजा गरिएको हो’, समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले भने ।

वनजंगलका ‌औषधियुक्त घाँसपात खाएर अमृतरूपी दूध दिने भएकाले सनातन हिन्दु समाजमा गाईलाई आमाकै रूप मानिएको छ । गाईबाट प्राप्त हुने पदार्थ पञ्चगव्य दूध, दही, घ्यू, गहुँत र गोबरका रूपमा धार्मिक कार्यमा शुद्धिका लागि प्रयोग गरिन्छ। यस्तै​गाईदानको ठूलो महत्त्व छ । देवकार्य वा पितृकार्य गर्दा गोदान नगरी शुद्ध भएको मानिँदैन ।​ 

कृषिकर्ममा गाईबाट प्राप्त हुने गोबर र गोमूत्रलाई मलका रूपमा प्रयोग गरिन्छ । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र ९डोरो० गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि वैतरणी गर्न सहज हुने लोकविश्वास  छ ।