नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखियो : सोबिता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको बताएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले १४ दिनको अन्तरालमा दुई ठूला हवाई दुर्घटना हुनुले पनि यसको पुष्टि गरेको बताइन् ।

‘मन्त्रालय सम्हालेका मन्त्रीहरूलाई पटकपटक सोधेको छु । नेपाल हवाई उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन लागि नागरिक उड्ययन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा कहिले छुट्टयाउनुहुन्छ, विधेयक कहिले ल्याउनुहुन्छ ? भनेर । तर मन्त्रीहरू पटकपटक फेरिनुभयो विधेयक संसदमा आएको छैन,’ उनले भनिन् ।

यति एयरलाइन्सको दुर्घटनाअघिको पाइलट र कोपाइलटको अडियो सार्वजनिक भएको र त्यसमा लापरवाही भएको प्रष्ट सुन्न सकिने उनले बताइन् ।

‘कतिजना हवाइ यात्रुहरूले विमानमा ज्यान गुमाउनुपर्ने हो ?नेपालको नियामक निकायको रेगुलेटरी फेल भएको प्रष्टसँग देखिएको छ । मन्त्रीज्यूले हवाइ उड्डयनलाई सुरक्षित बनाउन के गर्नुपर्ला भनेर सुझाव पनि माग्नुभएको रहेछ । सांसद सुमना श्रेष्ठले सुझाव पनि दिनुभएको छ । नेपालको सन्दर्भ विमानस्थल विस्तार निर्माण भएका छन् । तर उड्ययन क्षेत्रको नियमनका लागि हामीले प्राविधिकरूपले गर्नुपर्ने खर्च गरिरहेका छैनौं,’ उनले भनिन् ।

इयुको कालोसूचीमा पर्नु, आइकाओले अडिटमा एकदमै कम नम्बर दिनुले पनि नेपालको हवाई क्षेत्रको रेगुलेटरी फेलियर भइसकेको देखाउने उनले बताइन् ।