बारामा माछा र भात खाएर सुतेका एकै घरका तीन बालबालिकाको मृत्यु

काठमाडौँ । बारामा विशाक्त खाना खाँदा एकै घरका ३ बालबालिकाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका–७ झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विशाक्त खाना (फुड पोइजनिङ) का कारणले मृत्यु भएको हो ।

 मृत्यु हुनेमा ७ वर्षीया लालिमा राम, ७ वर्षीया पुष्पा राम र ५ वर्षीय रामनन्दन राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आइतबार बेलुका माछा र भात खाएर सुतेका तीन बालबालिकाको फुड पोइजनिङका कारणले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

 जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक तीनै बालबालिकाको शवपरीक्षण गरेर शव परिवारलाई हस्तान्तरण भइसकेको छ । नरेश राम रोजगारीका लागि भारतको पञ्जाब राज्यमा रहेको जनाइएको छ ।