संखुवासभामा पहिरोले तीन घर बगे, चट्याङ लागेर एक महिलाको मृत्यु

 

जेठ ३१, काठमाण्डौँ । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए । पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेको निमित्त प्रहरी प्रमुख लामिछानेले जानकारी दिए । उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् ।

चट्याङ लागेर संखुवासभामा एक जनाको मृत्यु
संखुवासभाको चिचिला गाउँपालिका–२ आहालेमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । गए राति हावाहुरीसँगै आएको वर्षाको क्रममा चट्याङ लाग्दा चिचिला गाउँपालिका– २ स्थित तल्लो आहालेमा ४३ वर्षीया सावित्रा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

बुधबार राति करिब ११ बजे परेको चट्याङ लागेर ४३ वर्षीया गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।