चक्कु प्रहारबाट घाइते भएका २४ वर्षीय खड्काको मृत्यु  

काठमाडौँ । दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मजुवाका २४ वर्षीय गोरखलाल खड्काको मृत्यु भएको हो । उनलाई उपचारका लागि भारतको लखनउमा लगिएकोमा बुधबार बेलुकी मृत्यु भएको हो।

उनको शव बिहीबार स्वदेश ल्याएर अन्त्येष्टि गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलका अनुसार तुलसीपुर उपमहानगर वडा नम्बर ४ गोटीखोलाका २१ वर्षीय पदम केसीले बुधबार मध्यराति खड्कामाथि ढाडमा चक्कु प्रहार गरेका थिए ।

घाइते खड्कालाई उपचारका लागि राति नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । तुलसीपुरमा उपचार सम्भव नभएपछि राति नै बाँकेस्थित नर्सिङ कलेजमा रिफर गरिएको थियो। त्यहाँबाट उनलाई बुधबार बिहान थप उपचारका लागि भारतको लखनउ लगिएको थियो ।

उपचारका क्रममा बुधबार बेलुकी ७ बजेतिर लखनउमा उनको मृत्यु भएको आफन्तहरूले बताएका छन् । चक्कु प्रहार घटनामा संलग्न पदमका साथै १८ वर्षीय मक्लु वली पनि पक्राउ परेका छन् ।

मदिरा सेवन गरेका उनीहरूबीच सामान्य कुरामा भनाभन हुँदा सो घटना भएको प्रहरीले जनाएको छ ।