कुवेतमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो, ४० जना भारतीय  

काठमाडौँ । कुवेत सहरको दक्षिणी भागमा रहेको मङ्गाफ क्षेत्रमा रहेको एक आवासीय भवनमा बुधवार बिहान भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

अमिर शेख मिसाल अल–अहमद अल–जाबेर अल–सबाहले आगलागीको कारणको बारेमा तुरुन्त अनुसन्धान गर्न आदेश दिएको र जिम्मेवार व्यक्तिहरूलाई जबाफदेही बनाउने प्रतिबद्धता जनाएका छन् ।

अमिर, युवराज शेख सबाह अल–खालेद अल–सबाह र प्रधानमन्त्री शेख अहमद अल–अब्दुल्लाह अल–सबाहले पीडित परिवारलाई शोक सन्देश पठाएका छन् । कुवेतका प्रथम उपप्रधानमन्त्री, रक्षा मन्त्री र आन्तरिक मन्त्री शेख फहाद युसुफ अल–सबाहले फरेन्सिक प्रमाण टोलीले आफ्नो अनुसन्धान पूरा नगरेसम्म भवन मालिक सहित संलग्न व्यक्तिहरूलाई हिरासतमा राख्न आदेश दिएका छन् ।

यस्तै दुर्घटना हुन नदिन निर्माण क्षेत्रमा हुने उल्लङ्घनलाई सम्बोधन गरी सम्बोधन गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन समेत दिए । स्रोतका अनुसार भवनभित्र करिब १६० जना कामदार रहेका थिए ।

ज्यान गुमाउनेमध्ये ४० जना भारतीय नागरिक छन् । आगलागीमा परी मृत्यु भएका भारतीयका परिवारलाई भारत सरकारले जनही २ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ । बुधबार बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैठक राखी मृतक भारतीयका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २र२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।