शंकास्पद रुपमा प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा मोरङमा दुई जना पक्राउ

काठमाडौँ । मोरङमा प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार पक्राउ गरिएको दुई जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा माङसेबुङ गाउँपालिकाका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको यांङवरक गाउँपालिकाका ३० वर्षीय विपीन अधिकारी रहेका छन् । 

मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक दीपक पोखरेलका अनुसार सोमबार बेलुका विराटनगर ३ को खाली चौरमा प्रेसर कुकरलाई कालो टेपले बेरेर राखेको अवस्थामा फेला परेको र सोही सन्दर्भमा संलग्न दुई जनालाई पक्राउ गरिएको हो।

उनीहरूले कुकर बमजस्तो देखिनेगरी लुकाई राखेको मोरङ प्रहरी प्रमुख पोखरेलले बताए। स्थानीयबाट शंकास्पद वस्तुबारे जानकारी भएसँगै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो।