सभामुख घिमिरेसँग बेलायती राजदूतको भेट

 काठमाडौँ - बेलायती राजदूत निकोला पोलिटले सोमबार सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । सभामुख कार्यकक्ष सिंहदरवारमा भएको भेटमा दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतमा केन्द्रित थियो ।

प्रतिनिधि सभाको सभामुख निर्वाचित भएपछि घिमिरेले भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् । बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार(सरकार मात्र नभई जनता जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे । 

बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो । सभामुख घिमिरेले भने, “दुई देशबीच २ सय वर्ष पुरानो सम्बन्ध अविष्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ ।” बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदान प्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए ।