प्रहरी हुँ भन्दै ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ । ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४, नैकापमा डेरा गरी बस्ने बैतडीको पुर्चौडी नगरपालिका–६ घर भएकी २४ वर्षीया अमिलाकुमारी साउदलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

उनले नेपाल प्रहरीको नायव निरीक्षक हुँ भन्दै एक महिलालाई प्रलोभनमा पारेर नगद ठगेको प्रहरीले जनाएको छ । उनले दैलेखको नारायण नगरपालिका–११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाइदिने प्रलोभनमा नगद एक लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

साथै, उनको साथबाट नेपाल प्रहरीको पोसाक एक जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिह्न एक थान, नेमप्लेट एक थान, बुट एक जोर, बेल्ट एक थान र मोबाइल एक थान समेत बरामद गरिएको जनाइएको छ ।