किशोरावस्थाका छोराछोरीलाई के सिकाउने ?

काठमाण्डौँ - आफूले दुःख भोगे पनि आफ्ना सन्तानलाई सुखसयलमा राख्ने भन्दै कतिपय अभिभावकले किशोरावस्थाका छोराछोरीलाई कुनै काम गर्न नलगाउने‚ उनीहरूले भनेका कुरा सबै पूरा गरिदिने गर्छन्। तर‚ यस्तो व्यवहारले उनीहरूलाई सधैं परनिर्भर बनाउन सक्छ।

एक जना महिलाले कक्षा १० मा पढ्ने छोरीलाई खाना खुवाइरहेकी थिइन्। उनी आफैं खान सक्दिनन् र भनेर सोध्दा विभिन्न बहाना बनाएर खाना नखाई स्कूल जान्छिन् त्यसैले यसरी खुवाइदिएपछि ढुक्क हुन्छ भनेर जवाफ दिइन्।

आफूले दुःख भोगे पनि आफ्ना छोराछोरीलाई सुखसयलमा राख्ने भन्दै किशोरावस्था पुग्दा समेत खाना खुवाइदिने गरेको दृश्य देख्न पाउँछौं। यस्ता दृश्य प्रायः शहरबजारतिर देखिन्छ।

कतिपय किशोरकिशोरीहरू स्कूल‚ कलेजबाट घर फर्किएपछि मोबाइलमा व्यस्त हुन्छन्। उनीहरूले विभिन्न हाउभाउ गर्दै भिडिओ बनाएर फेसबूक‚ टिकटक लगायत सामाजिक सञ्जालमा लगाएको प्रशस्तै देख्न सकिन्छ। समाजका हर कुरासँग साक्षात्कार गरिरहने ती किशोरकिशोरीहरू सानातिना घरायसी काम गर्न भने जान्दैनन्। सिक्न पनि चाहँदैनन्। उनै किशोरकिशोरीहरूले केटा वा केटी साथी बनाउने, चुरोट‚ मदिरा र लागूपदार्थ सेवन गरेको पनि देख्न सकिन्छ। जुन अहिलेको टड्कारो समस्या बन्दै गएको छ।

प्रविधिले विश्वका मानिसलाई एकै ठाउँ ल्याउन मद्दत गरिरहेको छ। कुनै व्यक्ति त्यही सामाजिक सञ्जालको प्रयोग गरी रातारात धनी भएको भनी आएका कुराहरू सामाजिक सञ्जालमा देख्न‚ पढ्न पाइन्छ। यसैको सिको गर्दै किशोरकिशोरीहरू रातारात धनी हुने सपना देखेर सामाजिक सञ्जालमा ‘भ्यूज’ बढाउन होस् या भाइरल हुन आफ्ना गोपनीयता भङ्ग गरिरहेका छन्। सामाजिक सञ्जालको प्रयोगबाट नै कतिपय किशोरकिशोरीहरू लागूपदार्थ प्रयोगकर्ताको सङ्गतमा पुगेका छन्। यौन दुर्व्यवहारमा पनि परेका छन्। 

यो किशोरकिशोरीको मात्र दोष होइन। अभिभावकमा रहेको शिक्षाको कमी, आफूले दुःख पायौं छोराछोरीले त्यस्तो दुःख नपाऊन् भन्ने मानसिकताले पनि यो अवस्था सिर्जना भएको हो। त्यसैले आफ्ना छोराछोरीलाई व्यक्तिगत‚ पारिवारिक र सामाजिक आचरणबारे शिक्षा दिनु अपरिहार्य छ। उनीहरूलाई जीवनोपयोगी सीप सिकाउनुपर्छ। 

के सिकाउने ?
हाम्रो समाजमा छोरीभन्दा छोरोलाई प्राथमिकतामा राख्ने चलन अझै छ। त्यसैले छोराभन्दा छोरीलाई घरधन्दामा लगाउने गरिन्छ। तर‚ छोरा वा छोरी दुवैले ती काम गर्न सक्छन्‚ गर्नुपर्छ भन्ने शिक्षा उनीहरूलाई दिनुपर्छ। 

सामान्य लाग्ने कुराहरू जस्तै( पहिरन आफैं लगाउने, कपडा धुने, पट्याउने जस्ता काम छोराछोरीलाई आफैं गर्न लगाउनुपर्छ। समयको दुरुस्तता, सुत्ने तथा उठ्ने समयको व्यवस्थापन, सरसफाइ गर्न सिकाउनुपर्छ। बचत गर्ने, आमाबाबुका कमाइका आधार तथा खर्चको सीमाबारे पनि बुझाउनुपर्छ। आफूभन्दा ठूलासँग आदरभावले बोल्ने, आफू वरिपरिका स्थानबारे थाहा पाउन पनि अति नै जरुरी हुन्छ। यस्ता सीप जीवनोपयोगी हुन्।