लाइसेन्सका लागि ६ लाख स्मार्ट कार्ड ल्याइयो , दैनिक १० हजार वटा छाप्ने योजना 

काठमाडौँ - ठेक्का लगाएको एक वर्षपछि बल्ल सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्ने ६ लाख कार्ड ल्याइएको छ ।
यातायात व्यवस्था विभागले गत वर्षको माघमा तीन महिनाभित्र उपलब्ध गराउने गरी १२ लाख स्मार्ट कार्ड खरिदको ठेक्का दिएकामा जर्मन ठेकेदार कम्पनीले गएराति ६ लाख कार्ड उपलब्ध गराएको हो ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले गएराति कतार एयरवेजको जहाजमार्फत  कार्ड प्राप्त भएको जानकारी दिंदै प्रयोगशाला परीक्षण गरेपछि लाइसेन्स छपाइ थाल्ने बताए। उनका अनुसार प्रयोगशाला परीक्षण गर्न एक साता लाग्छ ।

उनका अनुसार ठेकेदार कम्पनीले बाँकी ६ लाख कार्ड अबको ४५ दिनभित्र उपलब्ध गराउने बताएको छ । विभागले १२ लाख कार्ड उपलब्ध गराउन जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जीएमबीएचसँग १४ लाख ९८ हजार ८० अमेरिकी डलर अर्थात १९ करोड ८८ लाख १४ हजार रुपैयाँमा सम्झौता गरेको थियो ।