बढ्न थाल्यो कोरोना : तीन दिनमा नौ जनामा संक्रमण पुष्टि

काठमाडौ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा  उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको थियो ।  तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार चारसय ४४ व्यक्ति नेपाल भित्रिएका छन्। कोरोना सङ्क्रमित आठ व्यक्तिको नमुना सङ्कलन गरी थप परीक्षणका लागि क्षेत्रीय प्रयोगशालामार्फत केन्द्रमा पठाइएको थियो।

गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउद कोरोना भाइरसका सङ्क्रमित फेरि भेटिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न सुझाव दिए।
उनले सङ्क्रमितलाई होम आइसोलेशनमा बस्न र  सिकिस्त भएको अवस्थामा अस्पताल जान सल्लाह दियएको र सम्बन्धित पालिकासँग  समन्वय गरिरहेको जानकारी दिए।