नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने 

काठमाडौँ । नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने  भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वदेशमै औषधी उत्पादन गर्न निर्देशन दिएपछि लिमिटेडले औधषी उत्पादन गर्न लागेको हो ।

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधिमध्ये २० प्रकारका औषधि उत्पादन गरी वितरण गर्ने योजना अघि बढाइएको लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरूले जानकारी दिए।  औषधि उत्पादनका लागि उद्योग मन्त्रालय र लिमिटेडबीच सम्झौता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
आर्थिक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले २४ करोड ७८ लाख १२ हजार निकासाको तयारी गरेको छ।

उक्त रकम लिमिटेडले उत्पादनको विविधिकरणका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिद, मेसिनरी तथा प्लान्टो रिनोभेशन र उत्पादन विस्तारलगायत खर्च गर्ने भनिएको छ। विगतमा लिमिटेडले एक सय ४६ प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । केही समय सिटामोलमात्र उत्पादन गर्दै आएको लिमिटेडले हाल नौ प्रकारका औषधि उत्पादन गर्दै आएको छ।

गुणस्तरीय औषधि उपलब्ध गराउन लिमिटेडले तयार रहेको उल्लेख गर्दै उनले देशका सबै स्थानीय तहसँग सहकार्य गरेर औषधिको बिक्री वितरण गर्ने बताए  । महाप्रबन्धक पनेरुका अनुसार कम्पनिले विगतको तुलनामा उत्पादन र बिक्री दुवै बढाएको छ । पछिल्लो एक महिनामै डेड करोडसम्मको औषधि बिक्री गर्न सफल भएको छ ।

लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपानले सरकारले जनतालाई उपलब्ध गराउने ९८ प्रकारका औषधि उत्पादन गरेर बिक्री गर्ने मुख्य उद्देश्य रहेको र सोहीअनुसार अगाडि बढेको बताए। उनले सरकारले तत्कालका लागि लगानी गरेको अवस्थामा उत्पादन गरेर सरकारको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे।

व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा  १६ अर्ब ८० करोड बराबरको औषधिजन्य पदार्थ आयात भएको छ। गत आर्थिक वर्षमा २०७९/८० मा ४४ अर्ब ६४ कारोड बराबरको औषधिजन्य पदार्थ नेपाल भित्रिएको थियो । सबैभन्दा बढी औषधिजन्य पदार्थ भारतबाट आउने गरेको छ । गत वर्ष नेपालबाट एक अर्ब ६० करोडका औषधिजन्य वस्तु निर्यात भएको थियो ।