कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

 काठमाण्डौँ - नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

बैठकमा आज पनि प्रस्तुत भएका ११ वटा विभिन्न एजेण्डामाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहने छ । साथै सबै नेताहरूको धारणा सुनिसकेपछि नेतृत्वले जवाफ दिने र आज नै बैठक सक्ने तयारी छ । साउन २३ गतेदेखि जारी बैठकमा पेश भएका ११ वटा विभिन्न प्रस्तावित छलफल चलिरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा जारी बैठकमा हिजो केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, डा शेखर कोइराला, डा नारायण खड्का, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, सीता गुरुङ, मिनाक्षी झा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङगेलु शेर्पा, दिनेशकुमार यादव, उदयशम्शेर राणा, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, राजीवविक्रम शाहले धारणा राखेका छन् ।