नारायणगढ - मुग्लिन खण्डमा दुई वटा बस पुरिएको स्थानमा पुगे सेना र प्रहरीहरु  

काठमाडौँ । भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले बगाएर बेपत्ता भएका यात्रुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।

बसबाट हाम फालेका यात्रुहरूका अनुसार माथिबाट खसेको पहिरोले बगाउँदा दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर सिमतालमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् । काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसबाट ३ जना यात्रु हाम फालेको प्रहरीले जनाएको छ ।