रहेनन् चर्चित गीत ‘सानु म’ का मोडल दीपेश लामा  

काठमाडौँ । चर्चित पप गीत ‘सानु म’ का मोडल दीपेश लामाको निधन भएको छ। मंगलबार काठमाडौँको बसुन्धरामा हिंड्दा अचानक बेहोस भएर मृत्यु भएको परिवार स्रोतले जनाएको छ।

३९ वर्षीय लामा लामो समयदेखि ‘हेपाटाइटिस बी’ बाट पीडित थिए। हृदयाघातबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। लामाको पार्थिव शरीरलाई बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि समेत गरिएको छ।

‘सानु म’ गीत खेलेपछि लामा चर्चामा आएका थिए। प्रेम लामाले गाएको गीतमा दीपेशसहित सुबानी मोक्तानको अभिनय छ। यस गीतमा सञ्जीव सिंहको शब्द र गीत रहेको छ।

दिपेशले दर्जन बढी गीतमा अभिनय समेत गरेका थिए। उनको निधनको खबरपछि फ्यानहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।