'उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न' : निर्वाचन आयोग

काठमाडौँ - आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ पूरा भएको हो । ती मतपत्र आवश्यक सुरक्षा प्रबन्धसहित बुधबारदेखि सम्बन्धित निर्वाचन क्षेत्रका लागि ढुवानी गरिने आयोगले जनाएको छ ।

आयोगको अद्यावधिक विवरणअनुसार बारा–२ मा एक लाख पाँच हजार दुई सय ४८, चितवन–२ मा एक लाख २४ हजार छ सय ९५ र तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाता कायम भएका छन् ।