रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा १९ जनाको मृत्यु, ५५ घाइते  

एजेन्सी । रमजानको समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको छ । रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएको एआरवाई न्युजले जनाएको छ । लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेवार रहेको एक प्रहरी अधिकारीले बताएका छन् ।

यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।  

कराँची प्रहरीको यस वर्ष लुटेराहरूसँग ४२५ मुठभेड हुँदा ५५ लुटेरा मारिएको र ४३९ घाइते भएका छन् । नागरिक–प्रहरी सम्पर्क समिति (सीपीएलसी) को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा २२ हजार ६२७ अपराध दर्ता भएका थिए । यसमा ५९ जनाको मृत्यु र लुटपाटको प्रतिरोधमा ७०० जनालाई चोट लागेको थियो ।

यसका अतिरिक्त यस अवधिमा ३७३ कार, १५ हजार ९६८ मोटरसाइकल र ६ हजार १०२ मोबाइल फोन चोरी वा लुटपाट भएको सूचना प्राप्त भएको छ । एआरवाई न्युजका अनुसार सीपीएलसीको प्रतिवेदनमा कराँचीमा २५ वटा जबरजस्ती असुलीको घटना र फिरौतीका लागि पाँचवटा अपहरणका घटना पनि रेकर्ड गरिएको छ ।

कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताए ।