नेपालले पहिले ब्याटिङ गर्दै, आज जितेमा एकदिवसीय मान्यता जोगिने पक्का

काठमाडौँ - आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईसँगको खेलमा नेपालले टस जितेको छ । त्रिवी क्रिकेट मैदानमा नेपाल टस जितेर ब्याटिङ ‍रोजेको छ । नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । मल्ल र केसीको ठाउँमा ललितनारायण राजवंशी र गुलशन झालाई खेलाएकोछ ।

यसअघि यूएईमै भएको शृङ्खलाका दुई खेलमध्ये नेपालले यूएईलाई एक खेलमा हराएको थियो भने एक खेलमा पराजित भएको थियो । कीर्तिपुरमा जारी शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीलाइ हराएको छ ।

एकदिवसीय मान्यता कायम राख्न अब नेपालले तीन खेलमध्ये १ खेल जित्नुपर्ने हुन्छ । आजको खेल जितेमा नेपालले एकदिवसीय मान्यता जोगाउन सफल हुनेछ । अबका तीन खेलमध्ये  एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यस्तै, नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुनरजुलाईमा जिम्बावेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ ।

यूएईले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्ने सम्भावना सकिएको छ ।  यूएई ३३ खेलमा ३१ अङ्कसहित लिग–२ तालिकाको छैटौँ स्थानमा छ । एकदिवसीय मान्यता कायम राख्न तालिकाको शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ । पीएनजी ३४ खेलमा ११ अङ्कसहित तालिकाको पुछारमा छ । नेपाल ३३ खेलमा ३४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।