आज प्रदेश नामकरणको विरोधमा कोशी प्रदेश बन्द

काठमाडौँ - प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आइतबार बन्द आह्वान गरिएको छ ।

बन्दका कारण प्रदेशमा आइतबार बिहान सवारी साधन चलेका छैनन् । बन्दकर्ताहरु सडक उभिएर यातायातका साधन नचलाउन रोकिरहेका छन् । उनीहरूले सडकमा अवरोध समेत गरेको प्रहरीले जनाएको छ । जातीय पहिचान हुने गरी प्रदेशको नामाकरण हुनुपर्ने माग गर्दै आएका जातीय समुहहरुले बन्द आह्वान गरेका हुन ।

उनीहरुले शनिबार साँझ कोशी प्रदेशका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका थिए । जातीय नामाकरण गर्नुपर्ने विवादका कारण प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामाकरण समेत हुन सकेको थिएन । तर, यस पटक प्रदेश सभाले सुरूमै प्रदेशको नामाकरण कोशी गर्न सफल भएपछि जातीय समूहहरु आन्दोलनमा उत्रिएका हुन ।