आलमविरुद्धको मुद्दा : साक्षीलाई झिकाएर बकपत्र गर्न अदालतको आदेश 

काठमाडौँ । इँटाभट्टामा मानिसलाई जिउँदै जलाएको अभियोग लागेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा रौतहट जिल्ला अदालतले साक्षीलाई झिकाएर बकपत्र गराउन आदेश दिएको छ।

आइतबार भएको मुद्दाको सुनुवाइका क्रममा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले सरकारी पक्षका साक्षीलाई झिकाएर बकपत्र गराउन आदेश दिएको हो।  अदालतका स्रेस्तेदार उद्धव ढोडरीका अनुसार इजलासले जाहेरवाला गौरीशंकर रामको शारीरिक अवस्थाको परीक्षण प्रतिवेदन झिकाउन पनि आदेश दिएको छ।

आलमविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि यसअघि पटक पटक पेसी तोकिँदै स्थगित हुँदै आएका थिए। यसअघि गत पुस २९ गते ७ न्यायाधीशमध्ये २ जना मात्रै भएकाले आलमविरुद्ध मुद्दाको पेसी स्थगन भएको थियो। त्यसयता अन्तिम सुनुवाइका लागि एक महिनापछि पेसी तोकिएको हो।

पूर्वमन्त्री आलमको मुद्दामा फैसला गर्न जोखिम देखिएकाले न्यायाधीशहरू बिदामा बस्ने गरेका थिए। यसअघि कात्तिकमा रौतहट अदालतले मुद्दाको गम्मीरता र जटिलताको ख्याल १५ दिनभित्र बहस नोट पेस सरकारी वकिल र आलमका वकिललाई गर्न आदेश दिएको थियो।

अदालतको आदेशअनुसार यसअघि नै दुवै पक्षबाट बहस नोट पेस भइसके पनि अन्तिम सुनुवाइ हुन सकेको छैन।