संसद बैठक : राष्ट्रपतिको सवारी कडाई गरिएकोमा सरकारको आलोचना, खुकुलो बनाउन माग

काठमाडौँ - सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा जनताले दुःख पाएको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले राष्ट्रपतिको सवारी चलाउँदा जनताले दुःख पाएका र जसकारण विद्यामान व्यवस्थाप्रति नै नकारात्मक असर गरेको बताए । गत शुक्रबार राष्ट्रपति भण्डारी संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न नयाँबानेश्वरस्थित संसद भवनमा पुगेकी थिइन् । राष्ट्रपति भण्डारीको सवारी चलाउँदा सडक खाली गरिएको थियो । सो समयमा सुरक्षाकर्मीबाट चिकित्सक कुटिएकोदेखि एम्बुलेन्ससमेत रोकिएको विषयले जनताको गणतन्त्रप्रति नै आक्रोश बढेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् ।

बैठकको शून्य समयमा बोल्दै रघुजी पन्त, मुक्ताकुमारी यादवलगायतका सांसदहरुले सरकारको आलोचना गरेका हुन् । जनतालाई असहज नहुनेगरी विशिष्ट व्यक्तिको सवारी चलाउनुपर्ने भन्दै सांसद पन्तले राष्ट्रपतिको सवारी चलाउँदा भएको जामका कारण सरकार, संसद र राष्ट्रपतिप्रति नकारात्मक टिप्पणी भएको बताए ।