हरेक महिना एक खर्बमाथि रेमिट्यान्स भित्रिंदै

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह रेमिट्यान्स २७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यहि अवधिमा रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो । अहिले रेमिट्यान्स ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ । यस अनुसार यस वर्ष हरेक महिना एक खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ । मंसिर महिनामा मात्र एक खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या २ लाख ३६ हजार ७७९ र पुनः श्रमस्वीकृति लिनेको संख्या १ लाख १५ हजार ९४८ रहेको तथ्यांकमा उल्लेख छ । सो अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई ६ खर्ब ६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो ।