मुस्ताङको ढाक्मरमा हिमचितुवाले एउटै खोरका सय च्याङ्ग्रा मार्‍यो

जोमसोम - मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका २ को ढाक्मर गाउँमा हिमचितुवाले आक्रमण गरी सयभन्दा बढी च्याङ्ग्रा मारेको छ । गएराति ढाक्मर गाउँ भित्रै खोरमा ४ वटा हिमचितुवा पसेर च्याङ्ग्रा मारेका बताइएको छ ।

लोघेकर दामोदरकुण्ड—२ ढाक्मरका स्थानीय पशुपालक किसान मिङ्मार गुरुङले पालेका च्याङ्ग्रा खोरमा हिमचितुवाले विभत्स रुपमा च्याङ्ग्राहरु मारेका ढाक्मरका स्थानीय छिरिङ गुरुङले जानकारी दिए । शुक्रबार राति ४ वटा  हिमचितुवा मिङ्मार गुरुङको खोरमा पसेर करिव ३० लाख मुल्य बराबरको च्याङ्ग्रा क्षति बनाएको स्थानीय गुरुङले बताए ।

हिमचितुवा खोरमा पसेर  ठुलो संख्यामा च्याङ्ग्रा मारेपछि स्थानीय पशुपालक किसान मिङ्मार गुरुङ अहिले चिन्तामा छन् । उनले गाउँभित्रको खोरमा तारबारसहितको च्याङ्ग्रा हुल्ने गोठ थियो । तर, तारबार सहितको खोर नाघेर हिमचितुवाले च्याङ्ग्रा मारेर छाडेको हो ।