पहिरोले घर पुरिँदा बागलुङमा महिलाको मृत्यु, लोकमार्ग अवरुद्ध

बागलुङ - वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

लोकमार्ग अवरुद्ध

भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरोे खस्दा लोकमार्ग अवरुद्ध भएको हो । पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

त्यस्तै बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको छ । बजारको सडक ठाउँ ठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ ।