विद्यालय व्यवस्थापन समिति खारेज गरियोस् : सांसद सिंह

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विभिन्न मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले विनियोजन विधयेक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनि प्रस्ताव प्रस्तुत गरे ।

उनले विद्यार्थी र शिक्षाको अनुपात नमिलेको, विद्यालयबाट खेलकुद हराएको भन्दै खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेको उल्लेख गरे । विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्नेमा उनले जोड दिए ।

शिक्षाको माफियाकरण भएको उनको बुझाइ छ । उनले शिक्षा गुणस्तरीय बनाउनुपर्ने बताए । अवरोध नगर्न र शिक्षामन्त्रीलाई काम गर्न दिन उनले आग्रह गरे ।

खर्च कटौतीका विषयमा उनले ‘के मान्छे बेच्ने देश बनाउने हो ?’ भन्दै थप प्रश्न गरे । उनले ‘मधेसमा कृषि विश्वविद्यालय खोल्दा पाप लाग्छ ?’ भन्दै प्रश्न गरे । कृषि मन्त्रालयमा अनुदानको माफिया हाबी भएको भन्दै उनले यस्ता कार्य बन्द गरिनुपर्ने बताए ।

“कुनै किसानले कृषिको अनुदान पाउँदैन । अर्थमन्त्रीको मिलेमतोमा कृषि माफियाले अनुदान लाने गरेका छन्,” उनले भने ।