दुई जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगेपुल चुडिएपछि डेढसय विद्यार्थी पढ्नबाट बञ्चित  

काठमाडौँ ।  गत आइतबार अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका- ९ र  दैलेखको आठबिस नगरपालिका वडा-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुल चुडिएसँगै यतिखेर आवतजावतमा बन्द गरिएको छ।

झोलुंगेपुल नभएपछि स्थानीयबासीहरूको दैनिकी चलाउनै सकस परेको छ भने विद्यार्थीहरू पढ्नबाट बञ्चित भएका छन्।

त्यसैले तत्काल पक्की पुल बनाउन स्थानीयबासीहरूले सरकारसँग माग गरेका छन्। चण्डिका माविका शिक्षक कमल बहादुर शाहीले डेढ सय विद्यार्थीहरू पुल नहुँदा पढ्नबाट बञ्चित भएको जानकारी दिएका छन्। उनले भने,‘पुल नहुँदा सबैको पढाइ नै रोकियो,तत्काल पक्की पुल बनाएर सहज वातावरण मिलाउनुपर्‍यो।’

स्थानीय जानकी जैशीले पनि अहिले पुल नहुँदा अछामका विद्यार्थीहरू दैलेख र दैलेखका विद्यार्थीहरू अछाममा भएको विद्यालयमा पढ्न जान नसकेको जानकारी दिइन्। ‘आज विद्यार्थीहरू विद्यालय जानै सकेनन्,त्यसैले यथा शिघ्र पक्की पुल बनाउनुपर्‍यो राज्यलेु,उनले भनिन्।

आइतबार बिहान ९ बजे कर्णाली नदीमाथिको झोलुंगे पुल हुँदै खच्चडहरू नदी पार गरिरहेका थिए। तर, ती खच्चड पार गर्दै गर्दा लठ्ठा चुँडिएर १३ वटा खच्चड पुलमै अड्किए। जसमध्ये ११ वटा उद्धार र दुई वटाको मृत्यु भएको थियो।