शहिद स्मारक ‘ए’ डिभिजन लिग: मच्छिन्द्रले खुलमटार एफसीलाई ७–३ गोलले हरायो

काठमाडौँ । साविक विजेता मच्छिन्द्र क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा फराकिलो जित निकालेको छ । च्यासल फुटबल मैदानमा मंगलबार भएको खेलमा मच्छिन्द्रले खुलमटार एफसीलाई ७–३ गोलले हरायो ।

मच्छिन्द्रको फराकिलो जितमा ओलावाले आफिजले ह्याट्रिकसहित पाँच गोल गरे । ओलावालेको यो लिगकै पहिलो ह्याट्रिक हो । विमल घर्तीमगर र विजय भुजेलले एक एक गोल गरे ।

खुमलटारका लागि मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल गरे । जारी लिगमा यो सबैभन्दा धेरै गोल भएको खेल पनि हो । जितसँगै मच्छिन्द्रले आठ खेलबाट १२ अंक बनाएको छ । पराजित खुलमटारको समान खेलबाट सात अंक पुगेको छ ।

यसैगरी एन्फा कम्प्लेक्स मैदानमा भएको अर्को खेलमा विभागीय टोलीको त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई ३–१ गोलले पराजित गरेको छ । लिगमा आर्मीको यो तेस्रो जित हो । आर्मीको जितमा जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले गोल गरे ।

जावलाखेलका सुनिल खड्काले सान्त्वना गोल फर्काए । जितसँगै आर्मीले आठ खेलमा १२ अंक बनाएको छ । जावलाखेलको समान खेलबाट १४ अंक छ ।