केपी ओलीसँग राजेश हमालले सिनेमा संवाद गर्ने

काठमाडौँ । अभिनेता राजेश हमालले पूर्व प्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् ।

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्रियामध्ये एउटा सेसनमा ओली र राजेशले संवाद गर्ने भएका हुन् ।

सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन अर्थात् शुक्रबार ११ बजे देखि दुईबीचको संवाद राष्ट्रिय सभागृहमा हुने फेस्टिभल अध्यक्ष केपी पाठकले बताए ।

चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुनेछ ।

महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्ने छन् । त्यस्तै नम्रता शर्माले चलचित्रमा लैङिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मासँग कुरा गर्नेछिन् ।