कांग्रेस–एमाले गठबन्धन सरकार एक सय दिन टिक्न मुस्किल छ : वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन्।

शनिबार राजधानीमा पार्टी सम्वद्ध काठमाडौँ–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई सम्बोधन गर्दै पुनले सरकार लामो समय नचल्ने बताएका हुन्।

सरकारमा भएर पनि कांग्रेस–एमाले पंक्तिको मनोबल खस्किएको भन्दै उनले दुवै दलका नेताले आफूहरुसँगको अनौपचारिक कुराकानीमा सरकार एक सय दिन कटाउन मुस्किल रहेको बताउन थालेको दाबी गरे।

आफूहरुको प्राथमिकतामा सरकार नरहेको तर चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ थियो।

उनले नयाँ सरकार बनेपछि कांग्रेस–एमालेमा आन्तरिक किचलो बढेकोसमेत बताए।