राजेन्द्र पाण्डेले भने_'तीन तहका सरकारबीच समन्वय भए सबै प्रदेश सरकार आत्मनिर्भर हुन्छन्' 

 काठमाडौँ - बागमती प्रदेशका पूर्वमुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले तीन तहका सरकारबीच समन्वय गरेर अघि बढ्न सके सबै प्रदेश सरकार आत्मनिर्भर र सहजरूपमा चल्नसक्ने बताएका छन् । 

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भइरहेको प्रदेशको अभ्यास र उपलब्धिबारे कुराकानी गर्दै उनले देशको समृद्धि र जनहितका लागि प्रदेश हाँक्ने दृढ नेतृत्व भएमा पाँच वर्षभित्र सबै प्रदेश आर्थिक हिसाबले आत्मनिर्भर बन्नसक्ने जिकिर गरे । पूर्वमुख्य मन्त्री पाण्डेले भने, “मुलुकमा उपलब्ध र साधनस्रोतको सदुपयोगमा केन्द्रीय मन्त्रालयले सहज भूमिका र प्रदेश मन्त्रालयले केही मेहनत गर्ने हो भने पाँच वर्षभित्र नै प्रदेशलाई केन्द्रबाट बजेट दिन नपर्ने बनाउन सकिन्छ ।”

प्रदेश यातायात मन्त्रालयले अलि मेहनत गरेमा वार्षिकरूपमा रु २० अर्ब आम्दानी गर्नसक्ने बताउँदै उनले केन्द्रले सहजीकरण गरेमा अहिले आयात गरिँदै आएको रु २० अर्ब बराबरको काठ तथा काठजन्य सामग्री स्वदेशमै उत्पादन गर्न कुनै कठिनाइ नहुने उल्लेख गरे ।

 संविधानले व्यवस्था गरेको प्रदेश नेपालका लागि नयाँ संरचना भएकाले जन्मिएको सात वर्ष नपुग्दै नकारात्मक सन्देश जाने गरी टीकाटिप्पणी गर्न आवश्यक नरहेको बताउँदै पूर्वमुख्य मन्त्री पाण्डेले संविधान, गणतन्त्र र सङ्घीयतालाई बलियो बनाउनुपर्ने र शक्ति भने केन्द्रीय सरकारमा रहन आवश्यक भएको विचार प्रकट गरे । सङ्घीय निजामती ऐन तत्काल पास गर्न र प्रदेश प्रहरीलाई समायोजन गर्ने कार्यलाई केन्द्रीय सरकारलाई प्राथमिकतामा राख्न सुझाव दिँदै उनले कामविहीन भएर पनि काठमाडौँ मा थुप्रिएका संरचना र कर्मचारीलाई प्रदेशमा खटाउन र पठाउन ध्यानाकर्षण गराए ।