१५ लाख घुस लिएको आरोपमा पक्राउ परेका बनेपाका वडाअध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौँ । । घर बाटो सिफारिस बापत १५ लाख घुस लिएको आरोपमा पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका –९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यही माघ ३ गते भक्तपुरको गठ्ठाघरबाट रङ्गेहात पक्राउ गरेको थियो ।

नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५ लाख कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।

वादेको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन, एक सय अमेरिकी डलरको नोट र ह्युन्डाईको आईटेन कार पनि बरामद भएको थियो । वादे २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।