नेपाल टेलिकमको फाइबर सेवा ७४ जिल्लामा बिस्तार

काठमाडौँ । नेपाल टेलिकमको फाइबर सेवा ७४ जिल्लामा बिस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा पुगेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुमपूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा सुरु भएको छ ।

यसबाट ग्राहकले द्रूतस्तरको इन्टरनेट, फोन र टेलिभिजन हेर्ने सुवधा प्राप्त गर्नेछन् । अब कर्णालीका हुम्ला, मुगु र डोल्पामा अप्टिकल फाइबर पुग्न बाँकी  रहेको छ ।

नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र थप दुई जिल्ला मुगु र डोल्पामा एफटिटिएच सेवाको पहुँच विस्तार गर्ने योजना वार्षिक कार्यक्रममै राखेको जानकारी दिँदै मन्त्री शर्माले यो कामलाई शीघ्र रूपमा अघि बढाउन आग्रह गरेकी छन् । सूचना प्रविधिको विकास र प्रयोगलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।