'राजनीतिक नेतृत्वका ब्यक्तिले गर्दा नै देशभर भ्रष्टाचार बढेको हो' : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व रहेको बताएका छन् । 
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेश हेटौंडा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको संयुक्त आयोजनामा भएको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै राजनीतिक नेतृत्वले निष्पक्ष, पारदर्शी, स्वार्थरहित ढंगले काम गर्न नसक्दा भ्रष्टाचार मौलाउदै गएको आरोप लगाए ।  

नेपालमा भ्रष्टाचार संस्कारको रुपमा विकसित हुँदै गएको जिकिर गर्दै राणशासन, राजाहरुको शासन अहिले सम्म आइपुग्दा त्यही परम्परा विकसित हुँदै गएको उनको भनाई छ ।  ‘‘ठुलो हुनै पर्ने, पैसा कमाउनै पर्ने, घर बनाउनै पर्ने, गाडी चढ्नै पर्ने र राजनीतिक संरक्षणले भ्रष्टाचार बढ्दै गएको छ,’’ मुख्यमन्त्री जम्कट्टेलले भने । 

राजनीतिक नेतृत्व हिजोको संस्कारबाट मुक्त भएमात्रै त्यो देखेर जनता, कर्मचारीतन्त्र, सुरक्षा निकाय भ्रष्टाचार कम हुने विश्वास व्यक्त गरेका थिए । जहाँ जहाँ जसजस्ले भ्रष्टाचार गरेका छन, सरकारमा रहँदा, सरकारबाहिर हुँदा सबै राजनीतिक नेतृत्वलाई खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।  

कर्मचारीप्रति लक्षितगर्दै मुख्यमन्त्रीले नहुने कामलाई पनि कर्मचारीले हुन्न भन्न नसक्दा भ्रष्टाचार बढेको जिकिर गर्दै नहुने काम कुनैपनि राजनीतिक नेतृत्वको दबाबमा नगर्न उनले कर्मचारीलाई निर्देशन दिए । गलत काम हुँदा प्रदेश, मन्त्री सबै बदनाम हुने र जनतामा पनि निराशा बढ्ने भएकाले कर्मचारीलाई भ्रष्टाचार हुने काम नगर्न आग्रह गरे ।