भ्रष्टाचारीहरू यो देशका शत्रु हुन् : मुख्‍यमन्त्री कार्की  

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको प्रगतिमा भ्रष्टाचार र भष्टाचारी दुवै शत्रु भएका बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँद्वारा ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना’ का सम्बन्धमा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचारलाई शून्य प्रतिशत सहनशीलताको स्थानमा पुर्‍याउनुपर्ने भन्दै यसका लागि राजनीतिक, प्रशासनिक नेतृत्व र सुरक्षा निकायलगायत सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले प्रदेशमा भ्रष्टाचारविरुद्धको रणनीति बनाउन आवश्यक छलफल गरी नीतिगत योजना बनाइने जानकारी दिए।

मुख्यमन्त्री कार्कीले भ्रष्टाचारविरुद्धको कामकारबाहीलाई नियन्त्रण गर्न विधि, नीत बनाएर प्रतिबद्धतासहित कार्य गरेमा उल्लेखनीय सफलता हासिल गर्न सकिने विचार राखे। उनले भने, “अन्तर्राष्ट्रियस्तरमा मुलुकको सकारात्मक पहिचान बनाउन भ्रष्टाचार नियन्त्रण आवश्यक रहेकाले यसमा हामी सबैले आफ्नो क्षेत्रबाट सहकार्य गर्नुपर्छ।”