कामु प्रधानसेनापति सिग्देलले आजदेखि कार्यभार सम्हाल्ने

 काठमाडौँ - नेपाली सेनाले नयाँ प्रधानसेनापति पाएको छ । प्रधानसेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई बिहीबार आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले आजदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरिसकेका छन् । 

मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्नेछन् । त्यसपछि उनी प्रधानसेनापतिको रुपमा काम गर्नेछन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन् । प्रधान सेनापति शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदैछन् । प्रधान सेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहे अनुसार रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् ।