बाँकेको बाल सुधारगृहमा कैदीबन्दीबीच झडप, फरार भए बन्दी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित बाल सुधारगृहभित्र कैदीबन्दीबीच झडप भएको छ । सोमबार (हिजो) साँझ करिब ८ बजे खाना खाने बेला उनीहरूबीच दोहोरो झडप भएको हो ।

झडपपछि ६० जना कैदीबन्दीहरू सुधार गृहबाट निस्किएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

तीमध्ये ५८ जनालाई नियन्त्रणमा लिइसकेको उनले बताए । २ जना कैदीबन्दीको अझै खोजी जारी रहेको एसपी कार्कीले बताए । फरार दुई बालकैदी भारतीय नागरिक हुन् । उनीहरू डेढ वर्षदेखि सोही बाल सुधार गृहमा बस्दै आएका थिए ।

उक्त बालसुधार गृहभित्र हाल २७२ बालबन्दी राखिएका छन् । उनीहरू सबै १८ वर्षमुनिका छन् ।

बालसुधार गृहको सुरक्षाका निम्ति खटिएका प्रहरी त्यहाँभित्र प्रवेश गर्न पाउँदैनन् । सुधारगृहबाहिर समेत हतियारबिना सुरक्षामा खटिनुपर्ने भएकाले बालबन्दी भाग्न सफल भएका प्रहरीले जनाएको छ ।

झडपमा संलग्न आठजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको थुनामा राखिएको छ ।