गृहमन्त्रीको आदेशमा सांसदहरूमाथि आक्रमण भएको राप्रपा अध्यक्ष लिङ्देनको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेको आदेशमा सांसदहरूमाथि समेत आक्रमण भएको बताएका छन् ।

थापाथलीमा आयोजित सभामा उनले गृहमन्त्रीको आफूहरूलाई दमन गरेको बताए ।

उनले भने, ‘लोगो लगाएको सांसदलाई तपाईंले के गर्नुभयो ? मलाई कुट्नुभयो भनेर म भन्दिनँ, ज्ञानेन्द्र शाहीको कोट नै देखाइएको छैन । कुन प्रकारको पूर्वाग्रह हो ?’ उनले भने, ‘माननीय बुद्धिमान तामाङमाथि जुन प्रकारको आक्रमण गर्नुभयो, यसलाई हामीले राम्ररी याद गरेका छौं ।’

‘गृहमन्त्रीजी भ्रममा नपर्नुस्, राजनीतिमा तपाईँभन्दा धेरै अगाडिदेखि हामी छौं । यति लामो राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । तपाईंले त्यो तागत राख्नुहुन्छ ?’

रवि लामिछानेलाई छानबिन नै हुनु नपर्ने कुन व्यवस्था भएको प्रश्न गर्दै छानबिन गर्दा दोषी देखिएन भने चोखिन पाउने बताए ।

आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर तागत देखाएको भन्दै उनी रविमाथि खनिएका हुन् ।