यस वर्ष सुनको मूल्य उच्च हुने प्रक्षेपण, कति पुग्ला भाउ  ? 

काठमाण्डौँ - युबीएस फोरकास्टले सन् २०२४ मा अन्तराष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि हुने प्रक्षेपण गरेको छ । अमेरिकी केन्द्रीय बैंक‘फेडरल रिजर्भफेड’ले ब्याजदरमा कटौति गर्ने अनुमान गर्दै युबीएसले सुन र चाँदीको मूल्य यस वर्ष बढ्ने जनाएको हो ।  

‘फेडको ब्याजदर खुकुलो पार्ने नीतिका कारण यस वर्ष सुनको मूल्य बढ्ने हामीले अनुमान गरेका छौ । यसका साथै डलर कमजोर बन्दा समेत सुनको मूल्यवृद्धिलाई बल पुग्नेछ ।’इन्भेष्टमेन्ट बैंकका बहुमुल्य धातु रणनीतिकार  जोनी टेभेसले भने । उनका अनुसार यस वर्षको अन्त्यसम्म  सुनको मूल्य प्रतिऔंस २ हजार २ सय पुग्न सक्छ ।  

सुनको मूल्य र ब्याजदरबीच अप्रत्यक्ष सम्बन्ध रहेको छ । ब्याजदर घट्दा सुनको मूल्य बढ्ने गर्छ भने ब्याजदर बढ्दा घट्ने गर्छ । ब्याजदर कम हुँदा लगानीकर्ताले अन्य वैकल्पिक लगानी जस्तै बोन्डको तुलनामा सुनमा लगानी गर्न उपयुक्त ठान्ने गर्छन । बोन्डले ब्याजदर कम भएका बेला कमजोर प्रतिफल दिने गर्छ । अर्कोतर्फ ब्याजदर कम हुँदा डलर कमजोर हुने गर्छ । जसका कारण अन्तराष्ट्रिय बिक्रीकर्ताका लागि सुनको मूल्य सस्तो पर्न जान्छ । अन्ततःयसले सुनको माग बढाउँछ ।