जनताको अधिकारको रक्षा गर्नतर्फ लाग्न कार्यकर्तालाई अध्यक्ष प्रचण्डको निर्देशन  

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले जनताका अधिकार रक्षा गर्न निर्देशन दिएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘हामीले गरेको परिवर्तनकारी जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ। तर देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भए पनि जनताले गरेको त्यागको समुचित मूल्यांकन भएन। देश र जनता हितका खातिर संकल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।’

सहिद रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरूले क्रान्तिकारीहरूलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि उनले बताए।