दुर्घटना बढी हुने ठाउँमा ट्रमा सेन्टर बनाउँछौँ : मन्त्री दाहाल  

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँमा ट्रमा सेन्टर बनाउन काम गरिरहेको बताएका छन्।

आइतबार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन्। उनले धेरै सडक दुर्घटना भइरहेका ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल भइरहेको बताए।

उनले दुर्घटनामा तत्काल उद्धार नहुँदा मानिसले अकालमा ज्यान गुमाइरहेको भन्दै व्यवस्थित गर्ने बारेमा सरकार गम्भीर रहेको बताए। उनले रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको र त्यससम्बन्धी कानुन नबनाइएको भन्दै सरकार अब फास्ट ट्रयाकबाट कानुन बनाउने गरी अघि बढेको पनि बताए।

मन्त्री दाहालले भने‚ ‘रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको छ। यसको कानुन बनाउनै बाँकी छ। यसलाई फास्ट ट्रयाकबाट कसरी लैजान सकिन्छ भनेर सोचिरहेको अवस्था छ। विभिन्न दुर्घटना भइरहने ठाउँमा ट्रमा सेन्टरको अवधारणामा काम गरिरहेका छौँ। खाल्डाखुल्डी रहित नेपाल बनाउने अभियानमा हामी लागेकै अवस्था छ।’

मन्त्री दाहालले उपत्यकाको ट्राफिक लाइटलाई व्यवस्थित बनाइने पनि उल्लेख गरे। खाल्डाखुल्डीरहित नेपाल बनाउन आफूहरू लागेको पनि दावी गरे।