बिर्तामोडमा घरभित्रै वृद्धा मृत, कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान गर्दै

झापा - झापाको बिर्तामोडमा एक वृद्धा शंकास्पद रुपमा मृत फेला परेकी छन् । घटना शंकास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।

बिर्तामोड नगरपालिका–४ निवासी ६८ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान घरभित्रै मृत फेला परेकी हुन् । कुकुर आएपछि घटनाबारे थप जानकारी खुल्ने उनको भनाइ छ । स्थानीयका अनुसार मंगलबार राति गाउँमा चोर आएको थियो । गाउँलेले चोर आएको थाहा पाएपछि लखेटेका थिए । त्यही चोरले एक्लै बस्दै आएकी वृद्धाको हत्या गरेको हुनसक्ने आशंका स्थानीयको छ ।