गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक

सिन्धुली - सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती। छेउमा सलल बगेको सुनकोसी नदी। यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन्।

सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्ने पर्यटकको भीड लाग्ने गरेको छ। दिनकै एक–दुई सय पर्यटकले जलयात्रा गरेर आनन्द लिने गरेका छन्।

पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जलयात्रा सेवाले पर्यटक तान्न थप सहयोग पुगेको छ। राजधानी काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बिपी राजमार्गले पर्यटकलाई आवातजावतमा सहजता थपिदिएको छ।

सन् २०१८ अक्टोबर १० मा व्यवसायीले सञ्चालन गरेको जलयात्रा अहिले पर्यटकको आकर्षण बनेको छ। जाडोयाममा पनि जलयात्रा गर्ने पर्यटकको घुइँचो थियो। गर्मीयाम चैतदेखि असारसम्म भ्याइनभ्याइ हुने व्यवसायी तथा ताज रिभरसाइड रिसोर्टका प्रमुख श्रेष्ठ बताउँछन्।

“जलयात्राको मुख्य सिजन गर्मीयाम हो। यस याममा विशेषगरी काठमाडौँबाट प्याकेजमा मनोरञ्जन लिन आउने गर्दछन्, सार्वजनिक बिदामा दैनिक एक हजार जना बढीले जलयात्रा गर्दै आएका छन्”, उनले भने। प्राविधिक दृष्टिकोणले सुनकोसी नदीमा जलयात्रा गर्न सुरक्षित देखिएपछि पर्यटकलाई जुनसुकै समयमा पनि जलयात्रा सेवा दिन सकिएको उनले बताए।