सभामुख घिमिरेले देउवा, ओली र प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै 

काठमाडौँ - संवैधानिक परिषद् र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।

उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लगायतका नेताहरूसँग छलफल गर्न लागेका हुन् । शनिबार दिउँसो ४ बजे सिंहदरबारमा हुने भेटमा संवैधानिक परिषद् र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे छलफल हुने बताइएको छ। यी दुई विधेयक सरकारले संसद्मा दर्ता गराएको छ।

साथै, संसदीय समिति गठनबारे पनि छलफल हुने बताइएको छ। निर्वाचनपछि नयाँ संसद् सञ्चालन भएपनि संसदीय समितिहरू भने गठन गरिएको छैन।