नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.९० प्रतिशतले वृद्धि   

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा  १२.९० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार  चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा २० अर्ब ६ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बिमा शुल्कको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले समीक्षा अवधिमा तीन अर्ब १६ करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले दुई अर्ब ६४ करोड रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेको थियो ।

नवीकरण बिमा शुल्क १६ अर्ब ८३ करोड छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब ९७ करोड रुपैयाँ नवीकरण बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा ६ अर्ब ८२ करोड पाँच करोड खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले छिटो र छरितो तरिकाले बिमितहरूको दाबी भुक्तानी गर्ने नीति अवलम्बन गरेको जानकारी दिएको छ ।

कम्पनीले नेपाल बिमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा एक खर्ब ८६ अर्ब १० करोड भरपर्दो एवं सुरक्षित क्षेत्रमा लगानी गरेको बताइएको छ । कम्पनीको महाविपत्ति कोषमा एक अर्ब चार करोड रुपैयाँ सञ्चित छ ।

कम्पनीको रिटेन्ड अर्निङ एक अर्ब तीन करोड रुपैयाँ छ । अन्य इक्विटी १७ करोड रुपैयाँ भएको कम्पनीले जानकारी दिएको छ । आठ अर्ब २० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.४२ रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुई हजार ४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत छ ।