ऋणको माग आएन ! माघ १ बाट निक्षेपको ब्याज थप घटाउँदै बैंकहरु

काठमाडौँ - महँगोमा उठाएको निक्षेपको लागत बढ्ने तर आम्दानीको स्रोत ऋण विस्तार नहुने देखिएपछि बैंकहरुले माघ १ गतेबाट लागू हुने गरी ब्याज दर थप घटाउने गृहकार्य थालेका छन् । 

साउनदेखि नै निक्षेपको ब्याज दर घटाउन थालेपछि ऋणको ब्याज अपेक्षित रूपमा घटिसकेको छैन । लामो अवधिको निक्षेप उठाएका कारण बैंकहरुले त्यसको ब्याज घटाए पनि ऋणमा त्यसको प्रभाव देखिएको छैन । त्यही भएर बैंकहरुले माघ १ गतेबाट लागू हुने निक्षेपको ब्याज थप घटाउने भएका हुन्। निक्षेपको ब्याज घटाएपछि आधार दर केही कम हुन्छ र ऋणको ब्याज घट्छ ।

तर आधार दर तीन महिनाको औसतमा गणना हुने, बैंकहरुले एक वर्षभन्दा बढी अवधिको निक्षेप स्वीकार्नेजस्ता कारणले ऋण अझै महँगै छ। ऋणको ब्याज महँगो हुन्जेल नयाँ माग नआउने बैंकरको बुझाइ छ ।