फेरि देखिन थाल्यो कोरोना, भारतबाट फर्किएका १० जना संक्रमित

काठमाडौँ ।  भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल-भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ ।

हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए ।

हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन) मा बस्न सुझाव दिइएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।